Logo

समाचार

आपराधिक गतिविधि देखे १११४ मा खबर गर्न सशस्त्र प्रहरीको आग्रह


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि देखिए वा भएको पाइए तुरुन्त टोल फ्रि नम्बर १११४ वा अन्य सुरक्षा निकायमा जानकारी गराउन नागरिकलाई आग्रह गरेको छ।

प्रधान कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थिति सामान्य हुँदै जाने क्रममा केही व्यक्ति वा समूह आपराधिक गतिविधिमा संलग्न हुन सक्ने आशंका व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत तथ्यहीन भ्रामक प्रचार गर्ने, परिस्थितिको अनुचित लाभ उठाई सीमा अपराध, लुटपाट, आगजनी जस्ता कार्य गर्न सक्ने अवस्थाबारे सतर्क रहन र यस्ता गतिविधि देखेमा तुरुन्त खबर गर्न अनुरोध छ।”

प्रहरी बलले राष्ट्रमा शान्ति र सुव्यवस्था कायम गर्दै जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षणका लागि जुनसुकै परिस्थितिमा पनि संयमताका साथ परिचालित रहेको जनाएको छ।

यस्तै, सशस्त्र प्रहरी बलले राज्यद्वारा तोकिएको सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्दै अन्तर्राष्ट्रिय सीमाबाट हुन सक्ने अपराध, घुसपैठ र अतिक्रमण नियन्त्रणका लागि प्रभावकारी रूपमा परिचालन भइरहेको जनाएको छ। यसका लागि सीमामा खटिएका समकक्षी निकायसँग निरन्तर समन्वय भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : १४ बजे