Logo

मुख्य समाचार

ओली, लेखक र खापुङविरुद्ध मुद्दा चलाउनुपर्ने संविधानविद् भण्डारीको माग


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । संविधानविद् डा. सुरेन्द्र भण्डारीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङलाई मानवताविरोधी अपराधमा तत्काल मुद्दा चलाउनुपर्ने माग गरेका छन्।

प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा उनले जेन–जी आन्दोलनका क्रममा प्रहरी गोलीबाट ठूलो मानवीय क्षति भएकाले नयाँ सरकार बनेको दिनमै उनीहरूलाई गिरफ्तार गर्नुपर्ने बताए। आन्दोलनका क्रममा हालसम्म ५१ जनाको ज्यान गइसकेको छ।

भण्डारीका अनुसार आन्दोलनमा संलग्न बालबालिका र नागरिकको मृत्यु, व्यापक भ्रष्टाचार र सुरक्षा निकायको दमनजस्ता घटनाले मानवताविरोधी अपराधको अवस्था देखाएकाले त्यसबारे कानुनी कारबाही अनिवार्य छ।

साथै उनले सर्वोच्च अदालत र सिंहदरबारमा भएको आगजनी पनि मानवताविरोधी अपराध भएको भन्दै दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन सरकार तयार हुनुपर्ने बताए। उनले नयाँ सरकार निर्वाचन मात्रै गराउने उद्देश्यमा सीमित नभई जिम्मेवारीपूर्वक न्याय दिलाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ३ : ३९ बजे