काठमाडौं । मुलुकमा जारी राजनीतिक अस्थिरता र त्यसले पुँजी बजारमा पारेको प्रभावलाई ध्यानमा राख्दै पाँचवटा लगानीकर्ता संगठनले नेपाल धितोपत्र बोर्डलाई सेयर कारोबार केही समयका लागि बन्द गर्न औपचारिक माग गरेका छन्।
नेपाल शेयर बजार लगानीकर्ता संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल सेयरधनी संघ, र जनरल इन्भेष्टर एसोसियसनका पदाधिकारीहरूले संयुक्तरूपमा बोर्डलाई पठाएको पत्रमा बजारमा देखिएको ‘पेनिक सेलिङ’ (अनावश्यक बिक्री चाप) का कारण साना तथा नयाँ लगानीकर्तामा अपूरणीय क्षतिको जोखिम देखिएको उल्लेख गरिएको छ।
“वर्तमान विषम परिस्थितिमा बजार स्थायित्व र लाखौं लगानीकर्ताको हित संरक्षण गर्न कारोबार अस्थायी रूपमा स्थगन गर्नु नै एक मात्र विवेकपूर्ण विकल्प हो,” पत्रमा भनिएको छ। उनीहरूले धितोपत्र बोर्डलाई तत्काल आवश्यक कदम चाल्न र लगानीकर्ताहरूका मागहरू सम्बोधन गर्न द्रुत कार्यप्रगति गर्न आग्रह गरेका छन्।
माग पत्रमा हस्ताक्षर गर्नेमा नेपाल शेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठ, नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रशाश रजौरे, साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, र जनरल इन्भेष्टर एसोसियसनका अध्यक्ष दिपक कार्की रहेका छन्।
पुँजी बजारमा बढ्दो अनिश्चितता र राजनीतिक संक्रमणकालीन अवस्थाबीच लगानीकर्ता समुदायको चासो झनै तीव्र बनेको छ। धितोपत्र बोर्डले यसबारे के निर्णय लिन्छ भन्ने प्रतिक्षामा बजार अब छ।
प्रतिक्रिया