काठमाडौं । हामी नेपालका अध्यक्ष सुदन गुरुङले संविधान खारेज नगरी पुनर्लेखन गर्नुपर्ने माग राखेका छन्। उनले जेन–जी आन्दोलनको भावना प्रतिनिधित्व हुनेगरी संसद विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन्।
गुरुङका अनुसार वर्तमान संविधानलाई खारेज गर्ने होइन, संशोधन र पुनर्लेखन गरेर अद्यावधिक गर्नुपर्ने अवस्था आएको छ। उनले भने, “संविधान चाहिन्छ, खारेज नगर्ने। अरूले हस्तक्षेप गर्छन्। तर संविधान संशोधन हुनुपर्छ।”
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न सकिने सुझाव समेत गुरुङले दिएका छन्। उनका अनुसार “पहिलो महिला प्रधानमन्त्री” को नेतृत्वमा इतिहास रच्न सकिने अवसर छ।
गुरुङले आफू र आफ्नो समूहले प्रधानमन्त्री पदको आकांक्षा नराखेको स्पष्ट पारे। उनले भने, “सरकार हामीलाई चाहिएको होइन। चाहिएको भए प्रधानमन्त्री मलाइ भन्थे होला नि।” उनका अनुसार जेन–जीको आन्दोलन परिवर्तन र सुशासनका लागि हो, सत्ताका लागि होइन।
गुरुङले आन्दोलनमा दमन गर्नेहरूलाई कारबाहीको चेतावनी दिँदै गोली चलाएर आन्दोलन दमन गर्न खोज्नु गलत भएको टिप्पणी गरे। साथै उनले नेपाली राजनीतिक नेतृत्व नयाँ पुस्ताले लिनुपर्नेमा जोड दिँदै दलहरूलाई युवालाई अघि सार्न आग्रह गरे।
प्रतिक्रिया