काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले जेन–जी पुस्तालाई आफैं नेतृत्व लिन आग्रह गरेका छन्। उनले जेन–जी पुस्ता देश हाँक्न सक्षम रहेको दाबी गर्दै प्राप्त उपलब्धीको रक्षा गर्न नेतृत्व लिनुपर्ने बताए।
चौधरीले जेन–जी आन्दोलनले ल्याएको परिवर्तनलाई प्रशंसनीय भने पनि प्राप्त उपलब्धीको संरक्षण चुनौतीपूर्ण रहेको टिप्पणी गरे। “मेरो विचारमा तपाईंहरू देश हाँक्न सक्षम हुनुहुन्छ। आफैं नेतृत्व लिनुहोस् र प्राप्त उपलब्धीको रक्षा गर्नुहोस्,” उनले भने।
उनले आन्दोलनका उठाइएका विषय तत्काल थाति राख्न आग्रह गर्दै विगतका कर्मचारी र अहिलेका पालिका प्रमुखसँग हारगुहार गरेर लक्ष्य पूरा नहुने टिप्पणी गरे। तोकिएका मुद्दालाई आधार बनाएर मुलुकको शून्यता अन्त्य गर्नुपर्ने सुझाव पनि दिए।
चौधरीले पुराना नेताहरूको नैतिक अधिकार कमजोर भएको दाबी गर्दै जेन–जी पुस्तामै नेतृत्व विकास गर्नुपर्नेमा जोड दिए। उनले जेन–जी पुस्तामध्येबाट प्रधानमन्त्री बन्ने र त्यसलाई संवैधानिक बनाउने जिम्मेवारी राष्ट्रपतिको हुनेसमेत बताए।
प्रतिक्रिया