Logo

समाचार

एमालेले संविधानसम्मत राजनीतिक निकास र राष्ट्रपतिको सक्रिय भूमिका माग



काठमाडौं – नेकपा (एमाले)ले अबको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्नेमा जोड दिएको छ। बिहीबार महासचिव शंकर पोखरेलले पार्टी सचिवालयका तर्फबाट जारी गरेको वक्तव्यमा युवापुस्ताका सरोकारलाई सम्बोधन गर्नुपर्ने र सार्थक संवाद सुरु गर्न राष्ट्रपति रामचन्द्र पौडेलले नेतृत्वदायी भूमिका लिनुपर्ने उल्लेख गरिएको छ।

वक्तव्यमा प्रधानमन्त्रीको राजीनामापछि सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जनासहितका मुद्दा सम्बोधन हुनुपर्ने भनिएको छ। एमालेले संघीय संसद्, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेल्नुपर्नेमा पनि जोड दिएको छ।

पार्टीले स्थानीय तहहरूले निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन आग्रह गर्दै संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर दलहरूलाई संवादमा आउन र संवैधानिक उपलब्धि जोगाउन समझदारी बनाउन आह्वान गरेको छ।

आठबुँदे वक्तव्यमार्फत एमालेले वर्तमान प्रतिकूल अवस्था सहज हुँदै जाने विश्वास समेत व्यक्त गरेको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  १ : ५८ बजे