Logo

समाचार

स्थिर, शान्त र समृद्ध नेपाल निर्माण हाम्रो साझा लक्ष्य : रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थिर, शान्त र समृद्ध नेपाल निर्माण सबैको साझा लक्ष्य भएको जनाएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बुधबार जारी गरेको अपिलमा जनतामाझ आशाको सञ्चार गर्न नसके नयाँ नेपाल निर्माण फेरि आकांक्षामै सीमित हुने चेतावनी दिइएको छ।

अपिलअनुसार रास्वपा नयाँ राजनीतिक कोर्षबारे धारणा चाँडै सार्वजनिक गर्ने तयारीमा छ। पार्टीले मुलुकलाई विधिको शासन, कानुनी सर्वोच्चता, मानवअधिकार, आवधिक निर्वाचन र अभिव्यक्ति स्वतन्त्रताजस्ता लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा अगाडि बढाउनुपर्नेमा जोड दिएको छ।

रास्वपाले राजनीतिक प्रक्रियालाई शान्तिपूर्ण, रचनात्मक, सहभागितामूलक र पारदर्शी बनाउन नसके परिवर्तनको चाहना दिगो रूपमा संस्थागत हुन नसक्ने टिप्पणी गरेको छ। आन्दोलनका क्रममा उत्पन्न जटिल परिस्थितिलाई सामान्य बनाउन सुरक्षा निकायले थालेको प्रयासमा धैर्यपूर्वक साथ दिन पार्टीले आग्रह गरेको छ।

युवापुस्ताले आन्दोलनका क्रममा व्यक्त गरेका मागलाई राजनीतिक रूपमा सम्बोधन गर्ने वातावरण निर्माणमा आफू सचेत रहेको रास्वपाले जनाएको छ।

अपिलमा शान्ति–सुव्यवस्था कायम राख्न, सामाजिक सद्भाव अभिवृद्धि गर्न र राजनीतिक कोर्षलाई सही दिशामा लैजान जनस्तरबाट निरन्तर खबरदारी र पहलकदमी गर्न पनि आग्रह गरिएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ७ : १३ बजे