हेटौंडा । मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदी भागे गरेका छन् । कारागार प्रमुख सुवास पौडेलका अनुसार राति १२ः५५ बजे ‘क’ ब्लकमा रहेका कैदीहरूले तीनवटा गेट तोडेर बाहिर निस्कने प्रयास गरेका थिए ।
त्यही क्रममा उनीहरूले कारागारको पश्चिमपट्टिको पर्खाल भत्काएर भागेका हुन् । सो ब्लकमा ५ सयभन्दा बढी कैदी रहेका मध्ये करिब २३० जनालाई नियन्त्रणमा लिएर पुनः कारागारमा फर्काइएको पौडेलले जानकारी दिए ।
सुरक्षाकर्मी र कैदीबीच करिब ४ घण्टासम्म तनावपूर्ण अवस्था कायम भएको थियो। त्यही क्रममा सेनाले चलाएको गोली लागेर दुई जना कैदी घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । कारागारको गाडी लिएर भाग्ने क्रममा टायरमा प्रहार गरिएको गोली कैदीलाई लागेको कारागार प्रशासनले जनाएको छ ।
कैदीहरूले कारागार परिसरमा तोडफोड र आगजनीसमेत गरेका थिए। स्थिति नियन्त्रणमा लिन सेनाले करिब २०० राउन्ड हवाई फायर गरेको थियो । त्यस्तै, सशस्त्र प्रहरीले पनि २ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । कारागारको अर्को ‘ख’ ब्लक भने सुरक्षित रहेको कारागार प्रमुख पौडेलले बताए।
प्रतिक्रिया