काठमाडौं । नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध रहेको जानकारी गराएको छ ।
मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै नेपाल र नेपाली जनताको हित एवम सुरक्षाको लागि सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थामा पनि नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध रहेको जनाएको हो ।
साथै, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रही आएको भन्दै नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरु वारे नेपाली सेनाले विश्लेषण गरिरहेको पनि जानकारी दिइएको छ ।
यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विकर राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको भन्दै विद्यमान परिस्थितिलाई जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्न नेपाली सेनाले सम्पूर्ण युवा जनशक्ति र देशवासीलाई अनुरोध पनि गरेको छ ।
प्रतिक्रिया