हेटौंडा । देशभर फैलिएको जेन–जी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनलाई सरकारले बलपूर्वक दबाउने प्रयास गरेपछि नेपाल प्रेस युनियन मकवानपुरले गहिरो आपत्ति जनाएको छ ।
लोकतन्त्र, समाजवाद र वाक स्वतन्त्रताको पक्षमा निरन्तर संघर्षरत संगठन प्रेस युनियन मकवानपुरले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्दोष विद्यार्थीमाथि भएको गोली प्रहार र सञ्चारकर्मीमाथि भएको आक्रमणलाई अमानवीय, क्रूर र लोकतान्त्रिक मूल्यविपरीतको घटना ठहर गरेको छ ।
युनियन मकवानपुरले भन्यो, ‘बेथिति र भ्रष्टाचारविरुद्ध उभिएको जेन–जी पुस्ताको स्वस्फूर्त आन्दोलनलाई सरकारले दमन गर्नु मात्रै होइन, गोली चलाएर निर्दोष युवाको ज्यान लिनु नेपाली जनताको अधिकारमाथि ठाडो प्रहार हो । नागरिकले आफ्ना माग खुला रूपमा राख्न पाउनु उनीहरूको सार्वभौम अधिकार हो, तर सरकारले त्यही अधिकार कुण्ठित गर्न खोजेको छ।’
शान्तिपूर्ण प्रदर्शनमा सहभागी युवामाथि गोली प्रहार गरी हत्या हुनु र आफ्नो पेशागत दायित्व निर्वाह गर्न खटिएका सञ्चारकर्मी घाइते हुनु, युनियनको शब्दमा, ुलोकतान्त्रिक मूल्य र मान्यतामाथिको अभूतपूर्व हमला हो । प्रेस युनियन मकवानपुरले सरकारले तत्काल हिंस्रक गतिविधि बन्द गर्न, आन्दोलनमा उठाइएका मागहरू बिनाशर्त सम्बोधन गर्न र घटनाको निष्पक्ष छानबिन गर्न कडा आग्रह गरेको छ ।
संगठनले स्मरण गराएको छ कि भ्रष्टाचार, बेथिति र अकस्मात् फुलेको नेताहरूको वैभवशाली जीवनशैलीप्रति प्रश्न उठाउनु कुनै अपराध होइन, बरु यो प्रत्येक सचेत नागरिकको कर्तव्य हो । विज्ञप्तिमा भनिएको छ, ुनेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार मात्र नभई विगतका सबै सरकारहरूको पालामा समेत यस्ता प्रवृत्तिहरू मौलाउँदै आएका छन्। त्यसैले आजको आन्दोलन कुनै दल वा समूहको मात्र होइन, सम्पूर्ण नेपाली जनताको आकांक्षाको आवाज हो ।’
‘जेन–जी आन्दोलनमा ज्यान गुमाएका युवाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै प्रेस युनियन मकवानपुरले लेखेको छ,’देशलाई सुन्दर र समृद्ध बनाउन अठोटका साथ सडकमा उत्रिएका युवाले चढाएको बलिदान कहिल्यै खेर जानु हुँदैन। उनीहरूको सपना हामी सबै नेपालीको सपना हो ।’
त्यस्तै, घाइते विद्यार्थी तथा सञ्चारकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै संगठनले लोकतन्त्रप्रति आस्था राख्ने सम्पूर्ण नागरिकलाई भ्रष्टाचारविरोधी अभियानसँग एकताबद्ध भएर उभिन आह्वान गरेको छ।
प्रतिक्रिया