काठमाडौं । ‘जेनजी’ पुस्ताको आह्वानमा नेपालमा हालै भएको प्रदर्शनका क्रममा भएको हिंसा र मानवअधिकार उल्लंघनप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गहिरो चिन्ता व्यक्त गरेको छ । प्रदर्शनका क्रममा भएको हिंसामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै संघले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
संघका प्रवक्ता गंगाधर गौतमले सोमबार एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनको अधिकार नेपालको संविधानले नै सुनिश्चित गरेको हुँदा कलिला युवा प्रदर्शनकारीमाथि सुरक्षा निकायबाट गरिएको अत्यधिक बल प्रयोग र गोली प्रहारको निन्दा गरेका छन् । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अन्य वैकल्पिक उपाय हुँदाहुँदै पनि गोली चलाउनुले हामीलाई अत्यन्तै दुःखी बनाएको छ ।’ संघले थप क्षति हुन नदिन सरकारलाई थप जिम्मेवार र संयमित हुन आग्रह गरेको छ ।
यसैगरी, संघले हालै सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको पनि विरोध गरेको छ । चाडपर्वको बेला विदेशमा रहेका लाखौं नेपालीहरूलाई परिवारसँग सम्पर्क गर्न सामाजिक सञ्जाल एक मात्र भरपर्दो माध्यम भएको उल्लेख गर्दै यो प्रतिबन्धले व्यापार–व्यवसाय र वृत्ति विकासमा लागेका युवा र विद्यार्थीलाई समेत प्रभावित पारेको संघले जनाएको छ ।
एनआरएनएले तत्काल सामाजिक सञ्जाल खुला गर्न र कानुनको सर्वोच्चताको सम्मान गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ । साथै, देशमा सुशासन, मानव अधिकारको रक्षा, र जनजीविकाको प्रत्याभूतिलाई उच्च प्राथमिकता दिन नेपाल सरकार र सबै राजनीतिक दलहरूलाई संघले आग्रह गरेको छ । ‘नेपालको शान्ति र समृद्धिमा गैरआवासीय नेपालीहरू सधैं एक साझेदारका रूपमा रहने छन्,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया