Logo

मुख्य समाचार

आन्दोलनका घाइतेहरुको निःशुल्क उपचार गर्न मन्त्रालयको सर्कुलर



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज(सोमबार)भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर गरेको छ ।

स्वास्थ्य तथा जनसख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले संघीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी सिघ्र उपचारको व्यवस्था गर्न भनिएको छ ।

यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ ।

साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ५ : ३९ बजे