Logo

समाचार

सामाजिक सन्जाल बन्द गर्नु गलत हो, धेरै दिन टिक्दैन् : वामदेव गौतम



काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव  गौतमले सरकारले सामाजिक सन्जाल बन्द गरेर गलत गरेको बताएका छन् ।

नेपाल न्यूज बैकसँगको विशेष कुराकानीमा गौतमले आम नागरिकहरुका लागि सामाजिक संजाल अपरिहार्य अधिकार भएकाले बन्द गर्न नहुने प्रतिक्रिया दिएका हुन् । 

उनले भने,‘सामाजिक सञ्जाल बन्द गर्न पाइँदैन । यो जनताको अर्थात खासगरी युवाहरूको अपरिहार्य  अधिकार हो । अधिकार नभइ युवा अगाडि बढ्न सक्दैन् । उनीहरुलाई अधिकार दिनैपर्छ । सामाजिक सञ्जाल तुरुन्तै खोल्नुपर्छ,’ गौतमले अगाडि भने,‘यसलाई परिष्कृत कसरी गर्न सकिन्छ भन्ने विषयमा वहस हुनुपर्छ र यसलाई व्यवसिथ्त गर्नुपर्छ । जथाभावी बोल्ने र प्रयोग गर्नेलाई नियन्त्रण गर्नुपर्छ । तर सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन पाइँदैन । यो नेपालको संविधानको विरुद्धको काम हो ’ ।

त्यस्तै उनले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने र युवाहरुलाई त्यसबाट विमुख बनाउने काम सरकारले ठीक नगरेकोप्रति आक्रोश व्यक्त गरे । । उनले सामाजिक संजाललाई चाँडो भन्दा चाँडो जस्ताको तस्तै गराउने प्रयास गर्नुपर्ने औंल्याए ।

‘सामाजिक सञ्जाल सञ्चालन गरिरहेका र प्रयोग गरेर आफ्ना अभिव्यक्तिहरु नेपाल राष्ट्रको पक्षमा वा संसारभरका पक्षमा अभिव्यक्त गरिरहेका छन् । त्यसैले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने र युवाहरुलाई त्यसबाट विमुख बनाउने काम सरकारको ठीक काम होइन, गलत छ । त्यति भनिरहँदा प्रयोगकर्ताहरुले पनि जथाभावी गर्न पाउँदैनन्,’ उनले भने ।

त्यस्तै उनले सरकारले सामाजिक सन्जालमा लगाएको प्रतिबन्ध धेरै समय नटिक्ने बताए । उनले सरकारले जे गरेको छ त्यो बेठिक गरेको  बताए ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  २ : ५३ बजे