Logo

मुख्य समाचार

नीति जेठो दस्तावेज हो, कानुन त्यसको आधारमा बन्नुपर्छ : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले नीति निर्माण प्रक्रियालाई परिपक्व र अनुसन्धानमा आधारित बनाउनुपर्नेमा जोड दिएका छन् ।

सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा प्रस्तुत ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन’को मस्यौदामाथि छलफल गर्दै उनले नीति र कानुनको सम्बन्धबारे धारणा राखेका हुन् ।

उनले भने, ‘नीति जेठो दस्तावेज हो, कानुन त्यसको आधारमा बनाइन्छ । अहिलेको आधुनिक अभ्यास अनुसार सबैभन्दा पहिला कानुनको आवश्यकता र सान्दर्भिकता पहिचान गर्न अनुसन्धान गरिन्छ, त्यसपछि नीति बनाइन्छ, र त्यसैको आधारमा कानुन निर्माण हुन्छ ।’

गृहमन्त्री लेखकले नेपालको सन्दर्भमा भने विधेयकहरू हतारमा ल्याइने, अनुसन्धान र व्यापक नीति संवादको अभाव रहने अवस्थालाई उल्लेख गर्दै त्यसमा सुधार आवश्यक रहेको बताए ।

‘हामी फटाफुट विधेयक ल्याइहाल्छौँ, तर त्यसमा न त पर्याप्त अनुसन्धान हुन्छ, न त नीति तहमा गम्भीर छलफल,’ उनले भने, ‘नीति भनेको निश्चित लक्ष्य प्राप्तिका लागि तयार पारिएको मार्गचित्र हो । त्यसैले नीति नहुने हो भने त्यसको कार्यान्वयन पनि हुँदैन ।’

उनले राष्ट्रिय सदाचार नीतिको सन्दर्भमा पनि कानुन निर्माण गर्दा त्यसमा समावेश विषयवस्तुहरू परावर्तित हुनुपर्नेमा जोड दिए । 

गृहमन्त्री लेखकले नीति सरकारबाट पारित भइसकेपछि त्यो राज्यकै दस्तावेज हुने भन्दै त्यसको सम्मान गर्दै सबै कानुनी दस्तावेजहरू त्यसैको आधारमा निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘यदि सरकारले नीति नहेरी विधेयक ल्यायो भने संसदले त्यसमा संशोधन गर्नुपर्छ,’ उनले भने, ‘नीति कार्यान्वयनको मुख्य साधन कानुन हो । त्यसैले कानुन बनाउने क्रममा नीति स्पष्ट रूपमा प्रतिबिम्बित हुनुपर्छ ।’

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : ०० बजे