Logo

राजनीति

प्रधानमन्त्री ओली : “देशलाई हेपेको सहन्नँ”



ललितपुर, गोदावरी — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जतिसुकै हेपिए पनि देशलाई हेप्ने प्रवृत्ति सहन नसक्ने बताएका छन्।

आइतबार गोदावरीमा सम्पन्न एमालेको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियताप्रतिको अडानलाई दोहोर्‍याए। उनले भने, “मलाई जति सुकै हेपियोस्, म हेपिन तयार छु तर देशलाई हेपेको सहन्नँ। देशको स्वाभिमान माथि ठेस पुर्‍याउन पाइँदैन।”

सामाजिक सञ्जाल दर्ता र कर तिर्नुपर्ने विषयलाई उठाउँदै ओलीले सरकारले कानुन बमोजिम दर्ता र कर प्रणालीमा ल्याउन प्रयास गरे पनि अटेरी गरिएकाले सञ्चालनमा रोक लगाइएको स्पष्ट पारे। उनले सामाजिक सञ्जाल बन्दलाई वाक स्वतन्त्रता कुण्ठित भएको भन्दै आलोचना गर्ने बुद्धिजीवीहरूको धारणा गलत भएको दाबी गरे।

उनले भने, “हामी वाक स्वतन्त्रताको लागि बलिदान दिएका हौं। तर कानुनको दायरामा आउन नचाहेपछि रोक लगाइएको हो। वाक स्वतन्त्रताको अर्थ बुझ्न नसकी केही बुद्धिजीवीहरूले भ्रम फैलाएका छन्।”

प्रधानमन्त्री ओलीले ‘जेनजी पुस्ता’ विद्रोहमा उत्रिने भन्ने अड्कलबाजीलाई अस्वीकार गर्दै उक्त पुस्ता बेथिति र हेपाहा प्रवृत्तिको विरोधी रहेको उल्लेख गरे।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ४ : १४ बजे