Logo

विश्व

पुटिनले दिएको मस्को बैठकको प्रस्ताबलाई जेलेन्स्कीले गरे अस्विकार



काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मास्कोमा वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

उनले युद्धको अवस्था हेर्दा मस्को असम्भव स्थान भएको भन्दै पुटिनलाई युक्रेनको राजधानी कीभमा वार्ताका लागि बोलाएका छन् ।

अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘म यस आतङ्ककारीको राजधानी जान सक्दिनँ, किनभने युक्रेन हरेक दिन मिसाइल आक्रमण र गोलाबारीमा परेको छ,’उनले थपे,‘यदि पुटिन साँच्चै वार्ता गर्न चाहन्छन् भने कीभ आउनुपर्छ ।’ यसअघि पुटिनले आफू वार्ताका लागि तयार रहेको तर केवल मास्कोमै सम्भव हुने बताएका थिए ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोको निम्तो ‘वार्ताका लागि हो, आत्मसमर्पणका लागि होइन’ भनेका थिए । तर जेलेन्स्कीले मास्कोको निम्तोलाई वार्ता अस्वीकार गर्ने तरिका भएको टिप्पणी गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लामो समयदेखि दुई नेताबीच प्रत्यक्ष भेटवार्ताको दबाब दिइरहेका छन् । उनले हालै अलास्कामा पुटिनसँगको शिखर बैठकको मुख्य उद्देश्य पनि यही भएको बताएका थिए । ट्रम्पका अनुसार जेलेन्स्कीको वाशिङटन भ्रमण र युरोपेली नेतासँग छलफलपछि वार्ता सम्भव हुने भए पनि, मस्कोले थप सर्त राख्दै युक्रेनी शहरहरूमा आक्रमण तीव्र बनाएपछि प्रक्रिया रोकिन पुगेको हो ।

जेलेन्स्कीले क्रेमलिनले व्यक्तिगत वार्ता सम्भावनाको विकल्प सार्वजनिक गरेको कुरा मात्र पनि एउटा उपलब्धि भएको बताए । तर, उनले निरन्तर आक्रमण भइरहँदा वार्ता हुन नसक्ने दोहो¥याए । यसैबीच, जेलेन्स्कीले सेप्टेम्बरको पहिलो पाँच दिनमै रुसले एकहजार तीनसय भन्दा बढी ड्रोन, करिब नौ सय मार्गदर्शित बम र ५० भन्दा बढी विभिन्न प्रकारका क्षेप्यास्त्र युक्रेनमा प्रहार गरेको जनाए । यी आक्रमणहरूले देशका १४ वटा प्रदेश प्रभावित पारेको उनले बताए ।

वार्ता प्रक्रिया रोकिनुका बारेमा टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले भने,‘केही न केही हुन्छ, तर उनीहरू अझै तयार छैनन् । हामी त्यसलाई गराउँछौँ ।’ तर उनले अमेरिकाले स्वीकार गर्ने समयरेखा भने खुलाएनन् ।

एएनआई

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १२ : ३४ बजे