जनकपुर । जनकपुरधामसहित मिथिला क्षेत्रमा पितृ तर्पण (सोह्र श्राद्ध) आजबाट सुरु भएको छ । भाद्र कृष्णपक्षको औंसी तिथिलाई पितृ औंसी वा कुवेर औंसी भनिन्छ, जसलाई पितृ तर्पण, श्राद्ध तथा पितृ पूजाका दिनका रूपमा व्यापक रूपमा मनाइन्छ । जनकपुरधामका पोखरीहरुमा तर्पण गर्नेहरुको भीड लागेको छ ।
यस दिनलाई दिवंगत पितृ–पूर्वजप्रति श्रद्धा, कृतज्ञता र स्मरण गर्ने विशेष अवसरका रूपमा लिइन्छ । धार्मिक विश्वासअनुसार पितृलाई स्मरण गरी तर्पण, पिण्डदान र ब्राह्मणलाई दान गरे पश्चात पितृ तृप्त भई सन्तानलाई दीर्घायु, समृद्धि र धर्मपथमा अगाडि बढ्न आशीर्वाद दिने विश्वास रहिआएको छ ।
आजको दिन पितृको सम्झनामा स्नान, शुद्धि, ब्राह्मण पूजन, पिण्डदान र तर्पण गरिन्छ । नजिकको पोखरी, नदि, तलाउ वा आफ्नै घरआँगनमा जलाशयमा स्नान गरी पितृको नाममा जल अर्पण गर्ने गरिन्छ । त्यसपछि तिल, जल, दूध, कुश र पिण्ड (चामल वा पीठोको) अर्पण गरी मन्त्रसहित पितृलाई तृप्त पारिन्छ ।
धार्मिक दृष्टिले पितृ तर्पण गर्दा घरमा अशुभ हट्ने, कुलको रक्षक शक्तिको कृपा प्राप्त हुने र परिवारमा शान्ति, सन्तोष र प्रगति हुने मान्यता छ ।
पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार महर्षि अत्रि, अगस्त्य लगायत ऋषिमुनिहरूले पितृ तर्पणको महत्व प्रतिपादन गरेका थिए ।
महाभारतकालमा पितामह भीष्मले धर्मराज युधिष्ठिरलाई श्राद्ध र तर्पणको महत्व बताउँदै यसलाई पितृ ऋण तिर्ने प्रमुख उपाय भनेका थिए । त्यसैगरी पुराणहरूमा श्राद्ध नगरे कुल नाश हुने र सन्तानलाई बाधा पर्ने उल्लेख पाइन्छ ।
पितृ तर्पणलाई केवल धार्मिक कर्मकाण्ड मात्र नभई सामाजिक र पारिवारिक मूल्यसँग जोडिएको पर्व मानिन्छ । यसले पितृप्रतिको कृतज्ञता व्यक्त गर्ने, परम्परा निरन्तरता दिने र सन्तानलाई आफ्नो संस्कृतिसँग जोड्ने अवसर प्रदान गर्दछ ।
प्रतिक्रिया