Logo

Breaking News 1

बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा



हेटौंडा । चेपाङ समूदायको पहिचानसँग जोडिएको छोनाम(नुवागी) पर्वको अवसरमा आज(आइतबार)बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको छोनामको अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत बिहीबार एक सूचना जारी गर्दै आज आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्ले २०८१ चैत ९ गते प्रदेशको चेपाङबहुल जिल्ला मकवानपुर, चितवन र धादिङसहित तीन जिल्लामा प्रत्येक वर्ष भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरी प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो । बागमती प्रदेश सरकारले चेपाङको छोनाम पर्वको अवसरमा विगत दुई वर्षदेखि भदौ २२ गते सार्वजनिक बिदा दिँदै आएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सह–प्रवक्ता रविता कार्कीका अनुसार बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनाअनुसार उक्त बिदा दिने निर्णय गरिएको हो । चेपाङ समूदायको बाक्लो बसोबास भएका जिल्लाहरुमा नुवागी पर्वको अवसरमा बिदा दिइएको उनको भनाइ छ । चितवन जिल्लामा १८ हजार १ सय पुरुष र १७ हजार ५ सय ३७ महिला गरी ३५ हजार ६ सय ३७ चेपाङ बसोबास गर्छन् । त्यस्तै, मकवानपुरमा ११ हजार ९ सय ७२ पुरुष र ११ हजार ६ सय ७८ महिला गरी २३ हजार ६ सय ५० छन् ।

धादिङमा ८ हजार ६ सय ८७ पुरुष र ८ हजार ४ सय ७३ महिला गरी १७ हजार १ सय ६० जना चेपाङ बसोबास गरेका छन् । चेपाङ बहुल रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले भदौ २१, २२ र २३ गते तीन दिन सार्वजनिक बिदा दिएको छ ।
नुवागी पर्वमा चेपाङ समुदायले नयाँ अन्नबाली र फलफूल पितृलाई चढाएर मात्र खाने गर्छन् । यो चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो ।यसैगरी नुवागी पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको शुभकामना दिएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १० : ४९ बजे