काठमाडौं । नेपालकै सबैभन्दा ठूलो निजी क्षेत्रको वाणिज्य बैंक ग्लोबल आइएमई बैंक लिमिटेडले यस वर्ष पनि अन्तर्राष्ट्रिय स्तरको युरोमनी अवार्ड फर एक्सलेन्स २०२५ अन्तर्गत ‘बेस्ट बैंक अवार्ड’ जितेको छ।
मंगलबार सिंगापुरमा सम्पन्न विशेष कार्यक्रममा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका संचालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई अवार्ड हस्तान्तरण गरेका हुन्।
यो अवार्ड बैंकिङ क्षेत्रको वित्तीय प्रदर्शन, संस्थागत सामाजिक उत्तरदायित्व, प्रविधिगत नवप्रवर्तन तथा सुशासनमा गरिएको लगानीका आधारमा प्रदान गरिन्छ। १९९२ देखि वितरण हुँदै आएको यस अवार्डलाई अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ।
ग्लोबल आइएमई बैंकले हालै प्रकाशित वित्तीय विवरणअनुसार खुद नाफा ३० अर्ब नजिक पुगेको छ भने निक्षेप संकलन र कर्जा प्रवाहमा पनि बैंकले अग्रता लिएको छ। देशभर ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालयमार्फत बैंकले एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालन गरिरहेको छ।
साथै, बैंकले रेमिट्यान्स व्यवसायलाई आम्दानीको प्रमुख स्रोत बनाउँदै अमेरिका, युरोप, खाडी तथा एसियाका देशहरूबाट नियमित रूपमा रकम भित्र्याइरहेको छ। यसले विदेशी रोजगारमा रहेका नेपालीलाई सहज सेवा दिनुको साथै देशको विदेशी मुद्रा आर्जनमा समेत योगदान पुर्याइरहेको छ।
यसअघि पनि ग्लोबल आइएमई बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा ‘बेस्ट बैंक अवार्ड’ पाएको थियो। साथै, ग्लोबल फाइनान्स बाट २०२४ र २०२५ मा नेपालकै उत्कृष्ट बैंकको मान्यता समेत प्राप्त गरिसकेको छ।
विशेषज्ञहरूका अनुसार लगातार अन्तर्राष्ट्रिय अवार्ड हात पार्नु बैंकको वित्तीय सुदृढता, व्यवस्थापकीय क्षमता र बजार विस्तार रणनीतिलाई अन्तर्राष्ट्रिय स्तरमा स्वीकृति मिलेको संकेत हो। यसले विदेशी लगानीकर्तामाझ नेपालका वाणिज्य बैंकहरूको छवि बलियो बनाउन सहयोग पुग्ने अनुमान गरिएको छ।
प्रतिक्रिया