काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै प्रेस सेन्टर नेपालले तीव्र आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै सेन्टरले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सूचना सङ्कलन, समाचार सम्प्रेषण र आमनागरिकको अभिव्यक्तिको प्रमुख माध्यमका रूपमा स्थापित सामाजिक सञ्जालमाथि ‘नियमन’को नाममा गरिएको प्रतिबन्धले संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुगेको छ ।’
प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारलाई सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक कूटनीतिक पहलमा चुक्दै ‘दर्ताको नाममा’ प्रतिबन्ध लगाउने गैरजिम्मेवार रवैया देखाएको आरोप लगाइएको छ ।
‘सरकारको यस कदमले नागरिकलाई सूचनाको हकबाट बञ्चित गर्नेसहित अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रेस सेन्टर नेपालले सरकारको निर्णयलाई निरङ्कुशता र पश्चगामी प्रवृत्तिको रूपमा व्याख्या गर्दै गम्भीर आपत्ति जनाएको छ । साथै, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाई निर्णयमा पुनर्विचार गर्न र दर्ताका लागि आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।
सेन्टरले सामाजिक सञ्जाल लाखौं नेपालीको रोजगारीसँग समेत जोडिएको भन्दै यस्ता प्लेटफर्म निस्क्रिय पार्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ ।
प्रतिक्रिया