Logo

खेलकुद

एएफसीले दशरथ रंगशाला ‘अयोग्य’ भनेको भए पनि फिफा विन्डो खेल त्यहीँ हुने



काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत नेपाल र बंगलादेश बीच हुने दुई मैत्रीपूर्ण फुटबल खेल आगामी सेप्टेम्बर ६ र ९ मा काठमाडौंको दशरथ रंगशालामा हुने भएका छन्। खेलहरू फिफा अन्तर्राष्ट्रिय विन्डोअनुसार साँझ ५:३० बजे सुरु हुनेछन्।

तर, एएफसीले दशरथ रंगशालालाई आफ्नो अफिसियल प्रतियोगिताका लागि ‘अयोग्य’ ठहर गरेको छ। एएफसीले पत्रमार्फत रंगशालाको भीआईपी, भीभीआईपी, मिडिया प्रवेशद्वार, सुरक्षा, फल्डलाइट र ड्रेनेजको व्यवस्थामा कमजोरी रहेको जनाएको थियो। त्यसै कारण भियतनाम र मलेसियाविरुद्ध एएफसी एसियन कप छनोट खेल तटस्थ मैदानमा खेल्न भनेको थियो।

यस विषयमा एन्फाका प्राविधिक निर्देशक सञ्जीव मिश्रले भने, “दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेल सञ्चालनका लागि योग्य छ। एएफसीले माग गरेको मापदण्ड पूरा नभएर उनीहरूले अनुमति दिएका छैनन्। तर फिफा विन्डो अनुसारको मैत्रीपूर्ण खेलको लागि हामीले स्वीकृति पाइसक्यौँ।”

मैत्रीपूर्ण खेलका लागि पाहुना टोली बंगलादेश बुधबार नेपाल आइपुगेको छ। बंगलादेश टोलीमा इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीका रक्षक हम्जा चौधरी अनुपस्थित रहनेछन्। अभ्यासका लागि एन्फाले भद्रकालीस्थित त्रिभुवन आर्मी फुटबल मैदान र च्यासल रंगशालाको व्यवस्था गरेको छ।

दुबै मैत्रीपूर्ण खेललाई प्रतियोगिता शैलीमा सञ्चालन गर्ने निर्णय गरिएको छ। यदि दुवै खेलको समग्र नतिजा बराबरी रह्यो भने दोस्रो खेलपछि पेनाल्टीबाट विजेता टुंगो लगाइनेछ। विजेतालाई ट्रफी र पदक प्रदान गरिनेछ।

एन्फाले प्रारम्भमा प्रत्येक खेलमा आठ हजार टिकट बिक्री गर्ने निर्णय गरेको थियो, तर पछिल्लो पत्रकार सम्मेलनमा कुल १० हजार टिकट बिक्री गर्ने जानकारी दिइएको छ। भीआईपीतर्फ एक हजार र साधारणतर्फ नौ हजार टिकट बिक्री हुने छन्।

दुबै खेल सञ्चालनमा लाग्ने खर्च एक करोड २७ लाख ५८ हजार १६८ रुपैयाँ रहेको एन्फाले जनाएको छ।

नेपाली राष्ट्रिय टोलीको सदस्यहरू:
अभिषेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अञ्जन विष्ट, ऐरिक विष्ट, दिप कार्की, दिनेश हेञ्जन, जिलेस्पी जंग कार्की, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रणदीप पौडेल, रोहन कार्की, रोहित चन्द, समीर तामाङ, श्रृजन राज, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, तिकेन्द्र थापा, योगेश गुरुङ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  ७ : ४३ बजे