Logo

मुख्य समाचार

मेटा, लिंक्डइनसहित २० अन्तर्राष्ट्रिय कम्पनीले नेपालमा ५० करोड कर तिरे



काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्न सरकारको तयारीबीच मेटा, लिंक्डइनसहित २० अन्तर्राष्ट्रिय कम्पनी भने आन्तरिक राजस्व विभागमा दर्ता भई कर तिरेको पाइएको छ।

आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहालका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा यी कम्पनीहरूले ५० करोडभन्दा बढी कर तिरेका छन्। करदाता कार्यालयमा दर्ता भएकामध्ये मेटा प्लेटफर्म्स आयरल्यान्ड लिमिटेड, लिंक्डइन सिंगापुर, टिकटक, गुगल एसिया प्यासिफिक, माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, नेटफ्लिक्स, एडोब, एप्पल, जोहो, पियर्सनलगायत कम्पनी छन्।

सरकारले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइसकेको छ। तर, कर तिरेर दर्ता भएका कम्पनीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पुनः सूचीकरण गर्नुपर्ने अडान लिएको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार हालसम्म भाइबर, टिकटक, वीटक, निम्बस र पोपोेलाइभ सूचीकरण भएका छन् भने टेलिग्राम र ग्लोबल डायरी प्रक्रियामा छन्। सूचीकृत नभएकालाई निष्क्रिय राख्ने र सूचीकरण भएपछि सक्रिय गर्ने निर्णय भएको उनको भनाइ छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  ७ : ३१ बजे