काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बङ्गलादेशबीच दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएका छन् ।
दुवै खेल सेप्टेम्बर ६ र ९ (शनिबार र मंगलबार)मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरू हुने एन्फाले जनाएको छ ।
फिफा इन्टरनेशनल विन्डो अन्तर्गत आयोजना हुने यी खेलहरूको सम्पूर्ण तयारी पूरा भइसकेको एन्फाले जनाएको छ ।
प्रतियोगिताको मार्केटिङ तथा डिजिटल अधिकार एडी रिलिज प्रालिलाई दिइएको छ भने दुबै खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्स एचडीबाट गरिनेछ ।
खेलको टिकट दर भिआइपी पारापिटका लागि रू. १,००० र सामान्य पारापिटका लागि रू. ५०० निर्धारण गरिएको छ ।
एन्फाका अनुसार ९,००० सामान्य र १,००० भिआइपी टिकट बिक्रीमा आउनेछ । दर्शकहरूले ’खल्ती’ डिजिटल वालेटमार्फत टिकट खरिद गर्न सक्नेछन् ।
खेलका दिन दशरथ रंगशालाका सम्पूर्ण गेटहरू खुला राखिनेछ भने दर्शकहरूले आफ्नो टिकटमा उल्लेख गरिएको गेटबाट प्रवेश गरी तोकिएको सिटमा बस्नुपर्नेछ ।
दवै खेलको समग्र नतिजाका आधारमा विजेता टोलीलाई ट्रफी र पदक प्रदान गरिनेछ । यदि दुबै खेलको नतिजा बराबरीमा टुङ्गियो भने दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता निर्धारण गरिनेछ ।
एन्फाका अनुसार प्रतियोगिताको अनुमानित खर्च रू. १ करोड २७ लाख ५८ हजार १६८ रहनेछ (अनुमानित ९३ हजार ८१० अमेरिकी डलर)। संघले यी अन्तर्राष्ट्रिय खेलहरूलाई सफल र भव्य बनाउन सम्पूर्ण पत्रकार जगतको साथ र सहयोगको अपेक्षा गरेको छ ।
प्रतिक्रिया