Logo

कर्पोरेट

ल्यान्डमार्क होटेल र प्रभु बैंकबीच छुट सम्झौता, पर्यटन–वित्तीय सहकार्यले सेवा बजार विस्तार



काठमाडौं । ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

दरबारमार्गस्थित ल्यान्डमार्क होटेलमा सम्पन्न कार्यक्रममा प्रभु बैंकका प्रमुख विपणन अधिकृत रमेश कुमार श्रेष्ठ र विपणन प्रबन्धक दिना चित्रकार, साथै ल्यान्डमार्क होटेलका सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ र बिक्री तथा विपणन कर्पोरेट निर्देशक अमृत ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यममार्फत भुक्तानी गरी ल्यान्डमार्क होटेलका चितवन, पोखरा, काठमाडौं, तनहुँ र भैरहवा शाखाबाट सेवा लिन सक्नेछन्। आवास सेवामा विशेष संस्थागत छुट र खाना–पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त हुने व्यवस्था गरिएको छ।

प्रभु बैंकले हालसालै प्राप्त गरेको “बैंक अफ द इयर २०२३” सहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानले यसको बजार सुदृढीकरणमा टेवा पुगेको बैंकले जनाएको छ। देशभर ३१२ शाखा, २५६ एटीएम र ४८ एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बैंकले यस सहकार्यलाई ग्राहकमैत्री सुविधा विस्तारका लागि महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।

यसैगरी, प्रभु बैंकले फिनाकल इन्फोसिस इन्नोभेसन गोल्ड अवार्ड–२०२४ र युरोमनी एक्सिलेन्स अवार्ड २०२५ अन्तर्गत नेपाल बेस्ट डिजिटल बैंक फर एसएमई सम्मान प्राप्त गर्दै प्रतिस्पर्धी डिजिटल बैंकिङ सेवामा आफ्नो अग्रणी भूमिका मजबुत बनाएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  १ : ३७ बजे