काठमाडौं । एन्फा यू–१६ युथ लिगअन्तर्गत बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा संकटा क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–१ ले पराजित गरेको छ।
संकटाका लागि प्रज्वलकुमार लुम्रे र समित बलाम्पकीले समान एक–एक गोल गरे भने एक आत्मघाती गोल पनि उपहारमा प्राप्त भयो। प्लानिङका ओम खड्काले टोलीका लागि एक गोल फर्काए।
११औँ मिनेटमा जियान कुवँरको आत्मघाती गोलमार्फत अग्रता लिएको संकटाले २१औँ मिनेटमा ओमले बराबरी गोल गर्दा चुनौती व्यहोर्नुपरेको थियो। तर, ३५औँ मिनेटमा प्रज्वलको गोल र ६२औँ मिनेटमा समितको गोलले संकटाको जित सुनिश्चित भयो।
यस जितपछि संकटाले १८ खेलमा ११ जित, चार बराबरी र तीन हारसहित ३७ अंक जोडेको छ। लिगको आगामी खेलमा संकटा भदौ २० गते मनाङ मर्स्याङदी क्लबसँग खेल्नेछ।
पराजित प्लानिङ भने १९ खेलपछि १० अंकमा सीमित रह्यो र अब त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया