Logo

मुख्य समाचार

ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु



बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० बर्षे द्वन्द्व क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवन निर्वाह भत्ता दिने भएको छ ।

नगरपालिकाले बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जिवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले मासिक दुई हजार पाँच सय रुपैयाँ जीवन निर्वाह भत्ता दिन थालेको हो ।

द्वन्द्वमा शहिद भएका व्यक्तिका श्रीमतीले सरकारबाट एक महिला भत्ता पाउने तर बेपत्ता पारिएका व्यक्तिको श्रीमतीले एकल महिला भत्ता नपाउने हुँदा नगरपालिकाले नै कार्यविधि बनाइ जीवननिर्वाह भत्ता दिन थालेको हो ।

नगरपालिकाले हाल आठ जना महिलालाई भत्ता दिन सुरु गरेको ठाकुरबाबा नगरपालिकाकी  उपप्रमुख बिना भट्टराईले बताईन् । उनले बेपत्ताका श्रीमतीलाई थोरै भएपनि घर चलाउन सहज हुने बताईन् । 

तीन बर्ष यता राजापुर नगरपालिकाले पनि बेपत्ता पारिएका व्यक्तिको श्रीमतीलाई मासिक दुई हजार जिवन निर्वाह भत्ता दिँदै आएको थियो । ठाकुरबाबा नगरपालिकाले जिवननिर्वाह भत्ता दिएसँगै बर्दियाका आठ ओटा पालिका मध्ये दुई ओटा पालिकाले बेपत्ताका श्रीमतीलाई जिवननिर्वाह भत्ता दिन थालेका हुन् । सरकारले बेपत्ताका श्रीमतीलाई जीवन निर्वाहका लागि व्यवस्था नगरेको हुनाले नगरपालिका आफैले दिनु परेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताए ।

सरकारले  द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तीका परिवारलाई जिविकोपार्जनका लागि नयाँ कार्यक्रम र स्पष्ट नीति बनाउनुपर्ने उनको भनाई छ ।

बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगका अनुसार बर्दिया जिल्लामा दुई सय ६१ जना व्यक्ती बेपत्ता पारिएको भन्दै परिवारले उजुरी दिएका छन् ।  नेपाल भरीमा २६ सय भन्दा बढि व्यक्ति बेपत्ता पारिएको उजुरी दर्ता भएको आयोगको भनाइ छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ७ : ३७ बजे