काठमाडौं । शिक्षा विधेयकको विरोधमा निजी विद्यालयहरूले भदौ २४ र २५ गते विद्यालय बन्द गर्ने र काठमाडौं उपत्यका ठप्प पार्ने कार्यक्रम घोषणा गरेका छन्।
नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले पठनपाठनमा बाधा नआओस् भन्ने प्रयत्न भए पनि परिस्थितिले विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको बताए। उनका अनुसार दुई दिनसम्म काठमाडौं उपत्यकामा ठप्प आन्दोलन गर्ने तयारी गरिएको छ।
यसअघि प्याब्सन, नेसनल प्याब्सन, हिसान, एपेन र एनएमएले भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए। तर अन्तिम समयमा आएर विद्यालय बन्दको निर्णय फिर्ता लिइएको थियो।
निजी विद्यालयहरूले पाँचबुँदे माग अघि सारेका छन्। तीमध्ये प्रमुख मागमा शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाउनुपर्ने, विद्यालयमार्फत पोसाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना र खाजा उपलब्ध गराउनुपर्ने प्रावधान खारेज गर्नुपर्ने र कम्पनी ऐनअनुसार दर्ता भएका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने व्यवस्था हटाउनुपर्ने रहेका छन्।
योजना अनुसार, भदौ १९ गते बिहान ११ बजे देशभरका जिल्ला सदरमुकाममा बृहत् खबरदारी सभा हुने भएको छ। त्यस्तै, दिउँसो २ बजे तिलगंगास्थित होटल वेस्टर्न प्लसमा निर्णायक आन्दोलन तयारीसम्बन्धी प्रशिक्षण कार्यक्रम राखिएको छ।
प्रतिक्रिया