काठमाडौं । काठमाडौं उपत्यकाको पुरानो धार्मिक एवं सांस्कृतिक परम्परा पुनर्जीवित गर्ने उद्देश्यले लोंल टोलमा आकाश भैरव (हाथो भैलः आजु) को प्रतिमा पुनःस्थापना गरिँदैछ ।
यही भाद्र २१ गते शनिबार र भाद्र २२ गते आइतबारका दिन विशेष पूजाआजा सहित यो कार्य सम्पन्न हुने लोंल टोल सुधार समिति र लोंल युवालयले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।
करिब तीन हजार वर्ष पुरानो इतिहास बोकेको आकाश भैरव पूजा नेवा समुदाय, विशेषतः ज्यापु जातिको मौलिक परम्परा हो । इन्द्र जात्राको अवसरमा विशेष महत्व राख्ने यो परम्परा लोंल टोलमा झण्डै दुई शताब्दीअघि सक्रिय रहेको बताइन्छ । यद्यपि समयक्रमसँगै हराउँदै गएको यो परम्परा पुनःस्थापित गर्न हालै प्रतिमा निर्माण कार्य सम्पन्न गरिएको छ ।
समितिका अनुसार प्रतिमा पुनःस्थापनाको कुल लागत करिब २५ लाख रुपैयाँ पुगेको छ । आवश्यक कोष संकलनको लागि स्थानीयवासीहरूले स्वेच्छिक योगदान गरेका छन् भने अन्य शुभेच्छुकहरूले पनि गच्छे अनुसार सहयोग गरेका छन् ।
लोंल टोल सुधार समिति र लोंल युवालयको सहकार्यमा आयोजित यो कार्यले टोलको मौलिक पहिचान पुनःस्थापित गर्नुका साथै नेवा सांस्कृतिक सम्पदाको संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।
समितिले प्रतिमा पुनःस्थापनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै, इन्द्र जात्राको सुअवसरमा सम्पन्न हुने विशेष पूजाआजामा सहभागी भई सांस्कृतिक पुनर्जागरणमा हातेमालो गर्न सबैलाई आग्रह समेत गरेको छ ।
प्रतिक्रिया