काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धुलिखेल मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई दुई लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार भण्डारीले काभ्रेपलाञ्चोक, दोलालघाट गा.वि.स.–७ मा रहेको फिल्ड बुकमा छुट दर्ता भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए। उजुरीका आधारमा खटिएको आयोगको टोलीले उनलाई सेवाग्राहीसँग रु. २,००,००० घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।
भण्डारीको साथबाट नगद रकमसहित १९ वटा मोबाइल उपकरण पनि बरामद गरिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया