काठमाडौं । संयुक्त विद्यार्थी संगठनले प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि जनाउँदै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तोलालाई ज्ञापनपत्र बुझाएका छन् ।
बुधबार सिंहदरबारमा संयुक्त विद्यार्थी संगठनका पदाधिकारीहरले प्रमुख सचेतक बर्तौलालाई शिक्षा विधेयकनेपालको संविधान र आम नागरिकको नैसर्गिक अधिकार विरूद्ध रहेको भन्दै ‘निशुल्क र समान शिक्षा’ को माग सहित ज्ञापन पत्र बुझाएका हुन् ।
प्रस्तावित शिक्षा विधेयकले नेपालको शिक्षालाई चरम निजीकरणतर्फ धकेल्दै सार्वजनिक शिक्षालाई तहसनहस पार्ने स्थिति सिर्जना भएको संगठनको ठहर छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख सचेतक बर्तौलाले ७०–७२ लाख विद्यार्थीको कमाण्ड गर्ने संगठन, शिक्षा विधेयकको सम्बन्धमा यति लामो समयसम्म चुप बसेको भन्दै आपत्ति जनाए । विधेयक दर्ता भएपछि छुटाउन नमिल्ने विषयहरुमा सामुहिक संसोधन मात्र संगठनले राखेका भए त्यसमा छलफल हुने बताउँदै उनले समितिले विधेयक पास गरेपछि मात्र संगठन झस्किएको धारणा राखे ।
उनले भने,‘७०–७२ लाख विद्यार्थीको कमाण्ड गर्ने त्यत्रो ठूलो स्टेक होल्डरहरुको वास्तबमा अगुवाई गर्ने विद्यार्थी आन्दोलन लामो समय यो शिक्षा विधेयकको सम्बन्धमा तपाईहरु बेखबार हुनुभयो । तपाईहरु मान्नुहोस् या नमान्नु यो छलफल आज भएको होईन् । विधेयक दर्ता भएपछि यी–यी विषय तपाईहरुले कसै गरेपनि छुटाउन पाउनुहुन्न भनेर सामुहिक संसोधन मात्र राख्नुभएको भए हरेक दिन छलफल हुँदा संगठनले पेस गरेको संसोधनमाथि छलफल गर्नेथियौं । तर मुद्दाहरु ठिक ठाउँमा आउन सकेन् । समितिले पास गरेपछि झल्याँस्स बिउँझिएर आउनुभयो ।’
त्यस्तै उनले विधेयमाथि असन्तुष्टि जनाएर शिक्षक महासंघले काठमाडौंमा ठूलो प्रदर्शन गर्दा समेत विद्यार्थी नेताहरु महासंघले आन्दोलन गर्देला र मञ्चमा गएर भाषण गरौंला भनेर कुरेर बसेको आरोप लगाए । उनले आफ्नो मुद्दाको बारेमा आफ्नो मञ्च बनाएर खबरदारी गर्न विद्यार्थी संगठन तयार नभएको टिप्पणी गरे ।
उनले भने,‘विद्यार्थी संघका साथिहरुले कति सम्म ख्याल गर्नुभएन भने शिक्षक महासंघले काठमाडौंमा ठूलो प्रदर्शन गर्नुभयो । कहिले शिक्षा महासंघले आन्दोलन गर्देला र उहाँहरुको मञ्चमा गएर भाषण गरौंला भनेर विद्यार्थी संघका नेताहरु कुरेर बस्नुभयो । आफ्नो मुद्दाको बारेमा आफ्नो मञ्च बनाएर यी विषयमा खबरदारी गर्न तयार भएनन् ।यस्तो विषयमा ठूला भनिएका संगठनहरु झन् जिम्मेवार बन्नुपर्छ ।’
प्रतिक्रिया