Logo

गण्डकी प्रदेश

साना शहरी खानेपानी उपभोक्ता महासंघको पहिलो गण्डकी प्रदेश भेला सम्पन्न



पोखरा । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले ‘जनताको पानी, सरकारको लगानी’ भन्ने भावनासहित ७ मुद्दे घोषणापत्र पारित गर्दै आफ्नो प्रथम गण्डकी प्रदेश भेला पोखरामा सम्पन्न गरेको छ ।

हिमालयन जंगल रिसोर्ट, पोखरामा सम्पन्न भेलाको उद्घाटन पूर्व स्वास्थ्य तथा गृहमन्त्री तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले गरेका हुन् ।

भेलामा सहभागी उपभोक्ता संस्थाबीच अनुभव साटासाट, खानेपानी वितरण र व्यवस्थापनका चुनौती तथा समाधानका उपायको विस्तृत छलफल भएको थियो । छलफलको समापनमा जारी गरिएको ‘पोखरा घोषणापत्र’ मा मुख्य रूपमा ७ बुँदे माग समावेश गरिएको छ ।

मुख्य मागहरू यस प्रकार छन् ः

१. राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको प्रथम गण्डकी प्रदेश भेलामा सहभागी हुनु हुने, प्रमुख अतिथि, विशिष्ठ अतिथि, विशेष अतिथि नगर विकास कोष, अतिथिहरु, पत्रकार, ९ जिल्लाबाट उपस्थित हुनु भएका उपभोक्ता संस्थाहरु, प्रायोजन गरी सहयोग गर्ने उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखरा, दियालो टेक्नोलोजी प्रा.लि. र राम लक्ष्मी मोटर हाउस नारायणगढ चितवन लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्यो ।

२. यस महासंघले पेश गरी राष्ट्रिय सभाबाट हालै पारित भएको खानेपानी सम्बन्धी ‘राष्ट्रिय संकल्प प्रस्ताव’ कार्यान्वयन गराउन नेपाल सरकार लगायत सबै सरोकारवाला निकायहरुसंग जोडदार माग गर्ने,

३. सबै प्रकारका खानेपानी आयोजनाहरुको दायित्व राज्यले लिनुपर्ने भएकोले ‘जनताको पानी सरकारको लगानी’ भन्ने भावनालाई कार्यान्वयनको लागि जोडदार माग गर्ने ।

४. खानेपानी सेवा प्रदायक संस्थाहरु गैह्र नाफामूलक भएकोले करमुक्त आयोजना निर्माण र संचालन गर्न तथा नगर विकास कोषको ऋणमा ब्याजदर घटाउने साथै खानेपानी क्षेत्रको जोखिम बिमाको लागि आवश्यक प्रबन्ध गर्न माग गर्ने ।

५. हालै संघीय खानेपानी मन्त्रालयबाट कार्यालयको संरचना घटाई खानेपानी सेवा प्रभावित भएकोले खारेजमा परेका कार्यालयहरुबाट सेवा निरन्तर संचालन गर्न जोडदार माग गर्ने ।

६. लधबकज कयातधबचभ मा सबै डाटाहरु इन्ट्री गरी ध्ब्क्ज् उबिल तयार गर्न सबै तहका सरकारलाई जवाफदेही बनाउन जोडदार माग गर्ने ।

७. सरसफाई र वातावरणलाई उच्च प्राथमिकतामा राखी डिजाईन चरणबाटै वातावरणिय प्रभाव मुल्याङ्कन गर्दै प्रविधिमैत्री र सुरक्षित खानेपानी आयोजना संचालन गर्न माग गर्ने ।

गण्डकी प्रदेशमा रहेका ११ जिल्ला मध्ये ९ जिल्लाका उपभोक्ता संस्था समितिको तर्फबाट लगभग २०० जनाको उत्साहजनक सहभागितामा भेला सम्पन्न भएको  थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  २ : १९ बजे