काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटामा भएको आत्मघाती बम विस्फोटमा २५ जनाको मृत्यु भएको छ। घटनामा दर्जनौँ घाइते भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विस्फोट क्वेटास्थित एक स्टेडियमको पार्किङ नजिक भएको हो। विस्फोटमा १४ जनाको मृत्यु र ३१ जना घाइते भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
घटनास्थलमा उपस्थित जमान बलोचका अनुसार बैठक सकिएपछि उनी साथीको प्रतीक्षामा रहेका बेला ठूलो विस्फोट भएको थियो। विस्फोटपछि धेरै मानिस भुइँमा लडेका र त्रास फैलिएको उनले बताएका छन्।
यो आक्रमण बलुचिस्तान नेसनल पार्टी (बीएनपी)को र्यालीपछि भएको हो। पार्टीका प्रमुख अख्तर मेंगलले र्यालीमा भाषण दिएर बाहिर निस्किँदै गर्दा विस्फोट भएको थियो। उनले सामाजिक सञ्जालमार्फत आफू सुरक्षित रहेको जानकारी दिएका छन्।
बलुचिस्तानमा सुरक्षा चुनौती लामो समयदेखि रहँदै आएको छ। सन् २०२४ मा मात्रै हिंसात्मक घटनामा ७८२ जनाको मृत्यु भएको आधिकारिक तथ्यांकले देखाएको छ।
यसैबीच, मंगलबार बलुचिस्तानकै इरान सिमानानजिक अर्धसैनिक बलको गाडीलाई लक्ष्य गरेर भएको बम विस्फोटमा पाँच जना मारिएका र चार जना घाइते भएका छन्।
अर्को घटनामा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको आक्रमणमा ६ जना सैनिकको मृत्यु भएको छ।
हालसम्म कुनै पनि समूहले यी आक्रमणहरूको जिम्मेवारी लिएको छैन। बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगतीले विस्फोटलाई “मानवताका सत्रुहरूको कायरतापूर्ण कार्य” भन्दै कडा निन्दा गरेका छन्।
प्रतिक्रिया