ललितपुर। विभिन्न व्यावसायिक क्षेत्रमा योगदान पुर्याउने २१ नेपाली र ७ विदेशीलाई सिजन मिडियाले ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।
ललितपुरको पुल्चोकस्थित द प्लाजा होटलमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानामगरले पुरस्कार वितरण गरे।
‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ हामा आयरन एन्ड स्टिल इन्डस्ट्रीजका अध्यक्ष बालकृष्ण श्रेष्ठले प्राप्त गरे। प्रमुख पुरस्कार प्राप्त गर्नेमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, प्रभु इन्स्योरेन्स अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्त, उद्योग वाणिज्य महासंघ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीसहितका व्यक्तित्व थिए।
यस्तै, जलविद्युत् प्रवद्र्धक सुसन कर्माचार्य, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, मोरङ अटो वर्क्सका कार्यकारी निर्देशक मिलनबहादुर मल्ल, पत्रकार सुशील अर्याल, शिवानी थापा बस्न्यात, व्यवसायी डिल्लीराम पंगेनी, गायक शिव परियारलगायत सम्मानित भए।
विदेशी सन्दर्भमा चीन, कम्बोडिया, बंगलादेश, मलेसिया, भुटान र थाइल्याण्डका सात व्यक्तित्व सम्मानित भए।
कार्यक्रममा अध्यक्ष दाहालले योगदानकर्तालाई सम्मानले अझै राम्रो काम गर्न प्रेरणा दिने बताए। सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तका अनुसार संस्था विगत १७ वर्षदेखि सामाजिक, सांस्कृतिक र व्यावसायिक क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गर्दै आएको छ।

प्रतिक्रिया