इटहरी । मोरङको सुकुना बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)कै बहुमत सदस्यहरुले लगाएको तालाबन्दी खोलिएको छ ।
अध्यक्ष एलिश ओझाले स्ववियू कोषबाट २० हजार अनधिकृत रूपमा आफ्नो संगठनको महाधिवनमा प्रयोग गरेको आरोप लगाउँदै भदौ ८ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
स्ववियूकी कोषाध्यक्ष सविना थापाका अनुसार सो रकम कुनै आधिकारिक बैठक, छलफल वा सामूहिक सहमति बिना नै निकासा गरिएको थियो । जसले स्ववियूको विधान, परम्परा र मूल्य मान्यताको उल्लंघन गरेको भन्दै आपत्ति जनाइएको हो ।
तर पछि अध्यक्ष ओझाले रकम क्याम्पस खातामा फिर्ता गरेको प्रमाण प्रशासनले दिएको छ । साथै उनले विज्ञप्ति मार्फत स्पष्टिकरणसहित माफी मागेका छन् । क्याम्पस प्रशासनले समेत कमजोरी स्वीकार गर्दै भविष्यमा यस्ता त्रुटी नदोहोरिने प्रतिबद्धता जनाएपछि स्ववियूले तालाबन्दी खोल्ने निर्णय गरेको हो ।
विद्यार्थी आन्दोलनका कारण क्याम्पसका शिक्षक, कर्मचारी र विद्यार्थीमा परेको असुविधाप्रति स्ववियूले क्षमा मागेको छ ।

प्रतिक्रिया