Logo

मुख्य समाचार

संघ–संस्था दर्ता, नियमन तथा व्यवस्थापन विधेयकमाथि रामेछापका नागरिक संस्थाको आपत्ति



रामेछाप । नेपाल सरकारले तयार गरेको संघ–संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदाका विभिन्न बुँदा माथि रामेछापका नागरिक संस्थाहरूले असहमति जनाएका छन् ।

ती बुँदाहरूमा संशोधनको माग राख्दै सामाजिक संस्थाहरूले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलको नेतृत्वमा मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।

मस्यौदा विधेयकमा १८ वटा संशोधनको माग राखी संशोधन सहितको ध्यानाकर्षण पत्र बुझाइएको गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलले जानकारी दिए । जिल्लाका १५ वटा नेटवर्किङ संस्था र १२ वटा नागरिक संस्थाहरूको तर्फबाट ध्यानाकर्षण पत्र बुझाइएको उनले बताए ।

यही मस्यौदा विधेयक कानुन बनेर आएमा नागरिक संस्था चल्नै नसक्ने कँडेलले बताए । विधेयकले सामाजिक संस्थालाई पनि निजी कम्पनी जस्तो बनाउन खोजेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी थापाले नागरिक संस्थाहरूबाट आएको सुझाव जस्ताको तस्तै गृह मन्त्रालयमा पठाइदिने बताए ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ८ : २१ बजे