काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले पनि महिलाहरु इच्छा हुँदाहुँदै राजनीतिबाट पछाडि हट्नुपर्ने स्थिति रहेको बताएकी छन् ।
मंगलबार अखिल नेपाल महिला संघले आयोजना गरेको प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको स्मरणमा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले विभिन्न कारणले महिलाहरु राजनीतिबाट विमुख हुनुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘महिलाहरुको अहिलेको अवस्थामा पनि यस्तै समस्या छ । महिलाहरु निरन्तर लागिरहँदा विवाह नगरुन्जेल सक्रिय, विवाह गरेपछि एउटा समस्या, बच्चा भएपछि थप समस्या, पारिवारिक झमेलाले महिलाहरु राजनीतिबाट विमुख हुनुपर्ने अस्वथा छ । मन हुँदाहुँदै पनि पछाडि हट्नुपर्ने स्थिति हिजो पनि थियो आज पनि छ ।’
नेतृ शाक्यले पुरुषहरुलाई माथि उठाउन, नेतृत्वमा स्थायित्व गर्न, देशको प्रधानमन्त्री बनाउने सवालमा महिलाहरुले त्याग गरेको पनि बताइन् ।
उनले महिलाहरुको ठुलो संघर्ष र आटले देश खुल्ला राजनीतिक, संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको बताइन् ।
‘संघर्ष गरेर राणा शासनविरुद्ध आवाज उठाउँदै मताधिकार, शिक्षाको हक, लोकतन्त्र वा प्रजातन्त्रको लागि जुन संघर्ष, आँट महिलाहरुले गर्नुभयो, निरन्तर लाग्नुभयो । त्यसको प्राप्तिले गर्दा आज यस ठाउँमा आइपुगेका छौ । हामी खुल्ला राजनीति, संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं । अब नेपालमा निरङकुशता र एकात्मक शासन व्यवस्था छैन,’ उनले भनिन् ।
यस्तै कार्यक्रममा बोल्दै नेतृ शशी श्रेष्ठले साझा रुपमा एकतावद्ध भएर लागेकाले नै संविधान प्राप्त गर्न सफल भएको औंल्याइन् । उनले महिलाहरुको हक र अधिकारको लागि अझै पनि लडिरहनुपर्ने बताइन् ।
‘हामी सँधैभरी साझा मुद्दामा एकतावद्ध भएर लागेका कारणले गर्दा आजको यो उपलव्धि हो । यो संविधान हाम्रो साझा आन्दोलनको कारणले पाएको हो । ८ मार्च महिला अधिकारको कार्यक्रम गर्दा जेल परेका थियौ । आफ्नो अधिकारको लडाई निरन्तर लडिरहन पर्छ,’ उनले भनिन् ।
यस्तै, कार्यक्रममा पूर्वमेयर विद्यासुन्दर शाक्यले इतिहास बिर्सिनु नहुने बताए ।
नेपाली महिलाले पहिलो पटक मताधिकार प्रयोग गरेको दिन एव प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको स्मरणमा साधना नामक पुस्तक समेत विमोचन गरिएको थियो ।
प्रतिक्रिया