Logo

मुख्य समाचार

रास्वपा उम्मेदवार लेखजंग थापा : “जस्तोसुकै त्यागका लागि तयार छु”



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ मा उम्मेदवार तोकेका न्युरोलोजिष्ट डा. लेखजंग थापाले आफू जस्तोसुकै त्यागका लागि तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा उनले भनेका छन्, “रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ। नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको ‘उम्मेदवार छनोट विधि’ अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको तथ्य अवगत नै छ। तथापि, मेरो पार्टीले गर्ने कुनै पनि निर्णयलाई म सहर्ष स्वागत, स्वीकार र पालना गर्नेछु।”

थापाले व्यक्तिगत जीवनमाथि उठेका प्रश्नसमेत स्पष्ट पार्दै दुई पटक विवाह भएको र पहिलो पत्नीसँग सम्बन्ध विच्छेदपछि अर्को विवाह गरेको जानकारी दिएका छन्। उनले भने, “परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो, त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। सम्बन्ध विच्छेद भएकी श्रीमतीसँगको मेरो सन्तान छ र उसको भविष्यका लागि साझा अभिभावकत्वमा म प्रतिबद्ध छु।”

उनले पारिवारिक जीवन कानुनी र व्यवस्थित भएको दाबी गर्दै व्यक्तिगत आक्रमणलाई पार्टीमाथिको नियोजित प्रहारको संज्ञा दिएका छन्। उनका अनुसार, उम्मेदवार छनोट प्रक्रियामा पार्टी नेतृत्वले यस विषयमा कानुनी परामर्श लिएर अघि बढेको थियो।

व्यावसायिक जीवनमा १४ वर्षदेखि न्युरोचिकित्सकको रूपमा काम गर्दै आएका थापाले राजनीतिको मूल उद्देश्य व्यक्तिगत पद वा प्रतिष्ठा नभई देशमा रूपान्तरणकारी परिवर्तन ल्याउनु रहेको उल्लेख गरेका छन्।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ११ : २९ बजे