Logo

अर्थ

सानीभेरी जलविद्युत् आयोजना : ७५ प्रतिशत ऋण लगानी जुट्यो



काठमाडौं । रुकुमपूर्वमा निर्माण हुने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाका लागि आवश्यक ७५ प्रतिशत ऋण लगानी जुटेको छ । करिब नौ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा पाँच वाणिज्य बैंकहरूले सात अर्ब २० करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएका छन् ।

सिटिजन्स बैंकको नेतृत्वमा भएको सहमतिअनुसार सिटिजन्सले दुई अर्ब ५० करोड, नबिल बैंकले एक अर्ब ५० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब २० करोड, सानिमा बैंक र सिद्धार्थ बैंकले एक/एक अर्ब रुपैयाँ लगानी गर्नेछन् । बाँकी २५ प्रतिशत रकम प्रवर्द्धक कम्पनी एक्पर्ट हाइड्रो इन्भेष्टमेन्टले स्वपुँजीबाट जुटाउनेछ ।

आयोजनाले २०७९ माघ १२ गते उत्पादन अनुमति र २०८० असार २७ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता गरिसकेको छ । ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

रुकुमपूर्वको पुथाउत्तरगंगा–१४ र सिस्ने–२ मा निर्माण हुने आयोजनाबाट उत्पादित विद्युत् वाँफीकोट सबस्टेसनमा जोड्न २३ किलोमिटर प्रसारण लाइन निर्माण गरिनेछ । हालसम्म जग्गा खरिद, स्थानीय पुनर्वास, पहुँच मार्ग, विस्फोटक पदार्थ भण्डारण बंकर तथा नेपाल आर्मीका लागि आवास स्थलको अनुगमन सम्पन्न भएको कम्पनीले जनाएको छ ।

निर्माण सम्पन्न भएपछि पहिलो वर्ष प्रतिमेगावाट वार्षिक राजस्व तीन करोड ८३ लाख रुपैयाँ हुने र आठौँ वर्षसम्म चार करोड ८० लाख पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ८ : ०३ बजे