धरान (सुनसरी) — सप्तकोसी नदीमा जलसतह बढेसँगै कोसी ब्यारेजका ५६ मध्ये ३४ ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार सोमबार दिउँसो ४ बजे गरिएको मापनमा ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख ५६ हजार १० क्युसेक पुगेपछि थप ढोका खोलिएको हो।
यसअघि दिउँसो ३ बजे प्रवाह दुई लाख ४९ हजार १०५ क्युसेक नापिँदा ३२ ढोका मात्र खोलिएका थिए। आइतबार राति १० बजे गरिएको मापनमा प्रवाह दुई लाख २६ हजार ५६० क्युसेक पुगेपछि ३१ ढोका खोलिएका थिए।
पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप ब्यारेजमा रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार अहिले ब्यारेजमा रातो बत्ती बलिरहेको कन्ट्रोल रुमले जनाएको छ। पहाडी क्षेत्रमा भइरहेको अविरल वर्षाले जलसतह बढिरहेको हो।
प्रतिक्रिया