Logo

मुख्य समाचार

रुपन्देही–३ उपनिर्वाचन : एकीकृत समाजवादीबाट सातजनाको नाम सिफारिस



रुपन्देही – रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी)ले सातजनाको नाम सिफारिस गरेको छ। पार्टीको भैरहवामा बसेको जिल्ला कमिटी बैठकले महासचिव एवं पूर्वकृषिमन्त्री घनश्याम भुसालसहित सातजनाको नाम सिफारिस गरेको हो।

सिफारिसमा लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ का सहइन्चार्ज विजयलक्ष्मी राय परेका छन्।

उम्मेदवार छनोटका लागि गठित कार्यदलले सातै आकांक्षीसँग छलफल गरी एक महिलासहित तीनजनाको नाम केन्द्रीय कमिटीमा पठाउने जनाएको छ। उक्त कार्यदलमा केन्द्रीय उपमहासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव एवं प्रदेश सहइन्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडे र जिल्ला अध्यक्ष हीराध्वज शाह छन्।

भुसाल २०७४ सालमा यसै क्षेत्रबाट नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। रुपन्देही–३ मा उपनिर्वाचन कात्तिक १७ गते हुने तय भएको छ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ४ : १७ बजे