Logo

समाचार

सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरी कायम गर्ने सर्वोच्चको फैसला



काठमाडौं । सर्वोच्च अदालतले गोरखाको सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरी नै कायम रहने फैसला गरेको छ। न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासले आइतबार चुडामणि पोखरेलसहितले दायर गरेको रिट खारेज गर्दै गाउँसभाको निर्णयलाई मान्यता दिएको हो।

सिरानचोक गाउँपालिकाको केन्द्र सुरुआतमा संघीय सरकारले छप्राक तोकेको थियो। तर, २०७७ असार ३१ गते गाउँसभामा मतदानमार्फत दुईतिहाइ बहुमतले केन्द्र चित्रेपोखरी सार्ने निर्णय भएको थियो। सो निर्णयलाई प्रदेश सरकारले २०७७ साउन २३ मा र संघीय सरकारले असोज ४ गते स्वीकृत गरेको थियो।

उक्त निर्णयविरुद्ध पोखरेलसहित नौ जनाले २०७७ असोज २६ गते सर्वोच्चमा रिट दायर गरेका थिए। पाँच वर्षपछि सर्वोच्चले रिट खारेज गर्दै गाउँपालिकाको केन्द्र चित्रेपोखरी नै हुने आदेश दिएको हो।

फैसलापछि गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले अब स्थायी संरचना निर्माण गरी केन्द्रबाट सेवा प्रवाह अघि बढाउने बताए। तत्कालीन अध्यक्ष राजु गुरुङले पनि जनताको मतअनुरूप फैसला भएको भन्दै स्वागत गरेका छन्।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ३ : ५४ बजे