Logo

मुख्य समाचार

अस्ट्रेलियामा आप्रवासीविरोधी प्रदर्शन, सरकारको कडा प्रतिक्रिया



सिड्नी, अस्ट्रेलिया – अस्ट्रेलियाका प्रमुख सहरहरूमा आइतबार हजारौँ मानिस आप्रवासीविरोधी ‘मार्च फर अस्ट्रेलिया’ प्रदर्शनमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सरकारको आप्रवासन नीतिको विरोध गर्दै आप्रवासीविरोधी नारा दिएका थिए।

सिड्नीमा करिब आठ हजार सहभागी भएका थिए भने मेलबर्न र ब्रिजबेनमा पनि जुलुस निकालीएको थियो। मेलबर्नमा आप्रवासी समर्थक र विरोधी समूहबीच झडप हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो।

प्रदर्शनमा केही विपक्षी सांसद र स्थानीय नेताहरू समेत सहभागी भएका थिए। मेलबर्नमा ‘मार्च फर अस्ट्रेलिया’ का प्रदर्शनकारी र प्यालेस्टाइन समर्थक समूहबीच झडप भएको रिपोर्ट छ।

सरकारले प्रदर्शनको निन्दा गरेको छ। गृहमन्त्री टोनी बर्कले समाजलाई विभाजित गर्ने गतिविधिको अस्ट्रेलियामा स्थान नभएको बताएका छन्। बहुसांस्कृतिक मामिला मन्त्री डा. एन एलीले पनि अस्ट्रेलिया सबै नागरिकसँग एकताबद्ध रहेको र नस्लवादलाई अस्वीकार गर्ने बताइन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार, ‘मार्च फर अस्ट्रेलिया’ को घोषणा केही साताअघि सिड्नीमा आयोजित प्यालेस्टाइन समर्थन कार्यक्रममा अस्ट्रेलियाको राष्ट्रिय झन्डा जलाइएको घटनापछि गरिएको थियो।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  २ : १४ बजे