काठमाडौं — चौधरी ग्रुपअन्तर्गतको सीजी मोबाइलले भारतको नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसँगको सहकार्यमा नेपालमा एआई प्लस स्मार्टफोन ल्याउने भएको छ। हालै भारतमा सार्वजनिक गरिएको यो स्मार्टफोन ब्रान्डलाई पूर्व–रियलमी इन्डियाका प्रमुख कार्यकारी तथा नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसका संस्थापक माधव शेटले नेतृत्व गरेका छन्।
कम्पनीका अनुसार स्मार्टफोनमा प्रयोग गरिएको नेक्स्टक्वान्टम ओएसलाई भारतको पहिलो सार्वभौम मोबाइल सञ्चालन प्रणाली मानिन्छ। यसले व्यक्तिगत डाटा सुरक्षित राख्ने सुविधा प्रदान गर्ने दाबी गरिएको छ।
सीजी मोबाइलका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सहकार्यबारे जानकारी दिँदै नेपालमा विश्वस्तरीय सुरक्षा र उच्च प्रदर्शन गर्ने स्मार्टफोन उपलब्ध हुने बताए।
एआई प्लस स्मार्टफोन शृंखलाअन्तर्गत ‘पल्स’ र ‘नोभा’ मोडल बजारमा ल्याइने छन्। एआई प्लस पल्समा ६.७ इन्च एचडी प्लस डिस्प्ले, ९० हर्ज रिफ्रेस रेट, टी६१५ चिपसेट, १ टेराबाइटसम्म विस्तारयोग्य मेमोरी, ५० मेगापिक्सेल डुअल एआई क्यामेरा र ५,००० एमएएच ब्याट्री सुविधा रहेको छ। नोभा फाइभजी मोडलमा भने १२० हर्ज रिफ्रेस रेटसहितको ६.७ इन्च एचडी प्लस डिस्प्ले, टी८२०० चिपसेट, ५० मेगापिक्सेल डुअल एआई क्यामेरा र ५,००० एमएएच ब्याट्री रहनेछ।
दुवै मोडल निलो, कालो, हरियो, बैजनी र गुलाबी रंगमा उपलब्ध हुनेछन्। साइड फिंगरप्रिन्ट सेन्सर सुविधा पनि राखिएको छ।
एआई प्लस स्मार्टफोन नेपालभर सीजी मोबाइलको खुद्रा बिक्री नेटवर्क र अनलाइन बजारमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।
प्रतिक्रिया