मकवानपुर । हेटौंडा उपमहानगरपालिका–९ मास्टर चोकस्थित पूर्व–पश्चिम राजमार्गको जेब्रा क्रसिङमै ठूलो खाल्टो परेको छ ।
पैदलयात्री आवागमन गर्ने प्रमुख स्थानमै खाल्टो परेपछि सडक प्रयोगकर्तामाझ आक्रोश फैलिएको छ ।
राजमार्गको जेब्रा क्रसिङ पैदल यात्री तथा विद्यार्थीहरूले दैनिक प्रयोग गर्ने संवेदनशील स्थान हो। तर त्यही ठाउँमा खाल्टो परेपछि दुर्घटनाको सम्भावना बढेको छ ।
स्थानीयवासीका अनुसार सवारीसाधन अचानक खाल्टोमा ठोक्किने, नियन्त्रण गुमाउने वा पैदल यात्रीलाई ठक्कर दिने खतरा अत्यधिक छ ।
सडक डिभिजन कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिका दुवै निकायमाथि यसबारे प्रश्न उठ्न थालेको छ । ‘यस्तो भीडभाड हुने चोकमा खाल्टो परेर महिनौं बित्दा पनि मर्मत नहुनु सम्बन्धित निकायको लापरबाही हो,’ स्थानीयले गुनासो गरे ।
मेयरले यसतर्फ चासो नदेखाएको र सडक डिभिजन कार्यालयले समयमै मर्मत नगरेको कारण जनतामा असन्तोष बढ्दै गएको छ। तत्काल मर्मत कार्य नगरे ठूलो दुर्घटनाको जोखिम रहने स्थानीयवासीले चेतावनी दिएका छन् ।
प्रतिक्रिया