Logo

समाचार

भेरी नगरपालिकाका ८ कर्मचारी र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माण कार्यमा अनियमितता भएको भन्दै आठ जना कर्मचारी र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वडा नं. ६, ९ र १० को वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन विपरीत गतिविधि भएको पाइएपछि मुद्दा दायर गरिएको हो।

मुद्दामा संलग्नमध्ये भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इञ्जिनियर मोहन मल्ल, कानुन अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत र जिन्सी शाखा प्रमुख कृतिबहादुर थापा रहेका छन्।

आयोगले उनीहरुमाथि ३६ लाख २० हजार पाँच सय ७८ रुपैयाँ बराबरको बिगो मागदाबी गरेको छ। यस्तै, ठेक्का प्रक्रियामा संलग्न न्यू विके/नहकुली जेभी तथा उक्त कम्पनीका सञ्चालक गङ्गाकुमारी खड्का र चित्रबहादुर बोहोरामाथि पनि समान बिगो माग गरिएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  ८ : ०२ बजे