काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाएकोमा भारतीय सरकारले यसले ठूलो असर नपर्ने दाबी गरेको छ। भारतीय सरकारी अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) लाई बताएअनुसार भारतीय निर्यातको विविध संरचना भएकाले प्रभाव आशंकाअनुसार गम्भीर नहुने सम्भावना छ।
अमेरिकाले अगस्ट २७ देखि भारतका प्रमुख वस्तुहरूमा थप २५ प्रतिशत शुल्क थपेर कुल कर ५० प्रतिशत पुर्याएको हो। यो कदम भारतले रुसी कच्चा तेल र रक्षा उपकरण निरन्तर आयात गरिरहनुमा जोडिएको मानिएको छ।
भारतीय निर्यातकर्ताहरूले भने यसलाई व्यवसायमा ठूलो नोक्सानी र ‘सबैभन्दा ठूलो झटका’ को रूपमा वर्णन गरेका छन्। तर भारत सरकारले निर्यातकहरूलाई अमेरिकी खरिदकर्तासँग सहकार्य गर्ने, आपूर्ति श्रृंखलामा विकल्प खोज्ने र नयाँ व्यापार सम्झौतामार्फत असर कम गर्ने तयारी गरेको जनाएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले फक्स बिजनेस सँगको अन्तर्वार्तामा यो कर अस्थायी भएको र दुई देशबीच सहमति हुने विश्वास व्यक्त गरेका छन्। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किसान, पशुपालक र साना उद्योगहरूको हितमा सम्झौता नगर्ने भन्दै, “भारतले दबाब सहने छैन” स्पष्ट पारेका छन्।
प्रतिक्रिया