काठमाडौं । भारतीय राजधानी दिल्ली प्रहरीले नेपालीलाई विदेशमा रोजगारी लगाइदिने भन्दै ठगी गर्ने गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ।
क्राइम ब्रान्चका अनुसार पक्राउ परेका भारतीय नागरिक जयकाब र रूपेशको साथबाट १३ वटा नेपाली पासपोर्ट बरामद भएको छ। उनीहरूलाई विशेष अपरेसनमार्फत नोयडा र दिल्लीबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार गिरोहले १९ जना नेपालीबाट करिब एक करोड १२ लाख रुपैयाँ (७० लाख भारतीय रुपैयाँ) उठाएको छ। उनीहरूले नक्कली सर्बियाली भिसा र वर्क परमिट देखाएर पीडितलाई विश्वासमा लिएका थिए।
२२ वर्षीया नेपाली युवती सुजा खड्काले भदौ ६ गते दिल्ली अपराध शाखामा उजुरी दिएपछि अनुसन्धान सुरु भएको थियो। खड्कासहित अन्य नेपालीलाई गत वर्ष सीलमपुरमा भेटेर विदेशमा जागिर लगाइदिने आश्वासन दिइएको प्रहरीले जनाएको छ।
मे २०२४ मा प्रत्येक पीडितसँग ३,५०० युरो उठाइएको थियो। रकम क्यूआर कोडमार्फत उनीहरूको बैंक खातामा जम्मा गरिएको थियो। तर, जुलाई २०२५ मा दिल्ली आएका पीडितलाई न पासपोर्ट फिर्ता दिइयो न त विदेश पठाइयो। उल्टै विरोध गरेपछि धम्की समेत दिइएको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार पक्राउ परेका जयकाबले अन्य तीन साथीसहितको संलग्नता खुलाएका छन्। उनीहरूमध्ये रूपेशलाई पक्राउ गरिएको छ भने अन्यको खोजी जारी छ।
अनुसन्धानमा नेपालबाट करिब ६० लाख भारतीय रुपैयाँ ल्याइएको र उक्त रकम जयकाबलाई ‘राजाराम’ नामक व्यक्तिमार्फत पुगेको खुलेको छ। यसमा नेपाली नागरिक आशिष पाण्डेको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ।
दिल्ली प्रहरीले यस्ता नक्कली भिसा र रोजगारका नाममा हुने ठगीबाट सतर्क रहन सबैलाई आग्रह गरेको छ।
प्रतिक्रिया