रौतहट । रौतहटको यमुनामाई गाउँपालिकाको कार्यालय अगाडी विभिन्न माग राखी गरिएको धर्ना तथा अनशन स्थगित भएको छ ।
पालिकाका वडाध्यक्षको नेतृत्वमा २१ जना निर्वाचित सदस्यहरु १३ सूत्रिय मागहरु राख्दै गएको भदौं ४ गते देखि धर्ना तथा अनशनमा बसेका थिए ।
गाउँपालिकाको सरुअठा स्थित कार्यपालिकाको कार्यालय अगाडी वडा नम्वर २ का वडाध्यक्ष सीताराम यादवको नेतृत्वमा बसेको धर्ना तथा अनसनको सम्पूर्ण कार्यक्रम स्थगित भएको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको उपस्थितिमा माग गरिएका बमोजिमको कानुन अनुसार दिन मिल्ने सूचना दिने सहमतिपछि धर्ना तथा अनशनको कार्यक्रम स्थगित गरिएको वडाध्यक्ष यादवले बताए ।
आर्थिक बर्ष २०७९ देखि ८२ सम्मको गाउँ सभाको निर्णय, कार्यपालका बैठकको निर्णय, लेखा परिक्षण प्रतिवेदन, गाउँपालिकामा कार्यरत स्थायी, करार र दैनिक ज्यालादारीमा सबै तहका कर्मचारीहरुको नियुक्ति र त्यसको प्रक्रिया लगायतको सूचना माग गरिएको उनले जानकारी दिए ।
पालिकाबाट हुने हरेक काम पारदर्शिता, निष्पक्षता, मितव्यतिता, सुशासनमैत्री हुनुपर्ने पनि मागमा समेटिएको छ । लामो समयसम्म चलेको छलफलपछि अनसनरत पक्ष सहमतिमा आएको र वडाध्यक्ष यादवलाइ प्रजिअ खड्काले जुस खुवाएर अनसन तोडेको जिल्ला प्रशासन कार्यालयका प्रशासन प्रमुख रामनरेश साहले जानकारी दिए ।
प्रतिक्रिया