Logo

विश्व

१३ वर्षपछि पाकिस्तानी विदेशमन्त्री ढाकामा, सार्क सक्रिय बनाउन जोड



काठमाडौं । १३ वर्षपछि पाकिस्तानी विदेशमन्त्रीको औपचारिक भ्रमणका लागि बंगलादेश पुगेका इसहाक डारले सार्कलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिएका छन्।

शनिबार दुईदिने भ्रमणका क्रममा उनले बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुससँग भेट गर्दै दुवै मुलुकबीच सम्बन्ध सुदृढ बनाउन तथा क्षेत्रीय सहयोग संगठन (सार्क) सक्रिय बनाउन आवश्यक रहेको बताएका हुन्।

युनुसले पनि सार्कलाई प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै पाकिस्तानसहित अन्य सदस्य राष्ट्रसँगको सम्बन्धलाई प्राथमिकता दिने बताएका छन्। उनले सन् १९७१ को युद्धसँग जोडिएका संवेदनशील विषय स्वीकार गर्दै सांस्कृतिक आदान–प्रदानमार्फत सम्बन्ध विस्तार गर्नुपर्ने बताएका थिए।

ढाकाले १९७१ को मुक्ति संग्राममा भएको नरसंहारबारे पाकिस्तानले माफी माग्नुपर्ने माग दोहोर्‍याएको छ। अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार एम तौहीद हुसैनले डारसँगको भेटपछि पत्रकारलाई प्रतिक्रिया दिँदै यससम्बन्धी नसुल्झिएका मुद्दा उठाइएको जानकारी दिए। उनले सम्पत्ति बाँडफाँटको विषयसमेत छलफलमा आएको बताए।

डारले भने १९७१ सम्बन्धी विषय १९७४ र २००० मा नै समाधान भइसकेको दाबी गरे।

भ्रमणका क्रममा बंगलादेश र पाकिस्तानबीच एक सम्झौता र पाँच सहमतिपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। व्यापार, शिक्षा, युवा कार्यक्रम, सांस्कृतिक आदान–प्रदान र कनेक्टिभिटी सुधार गर्ने विषयमा सहमति भएको बताइएको छ।

दुवै पक्षले अक्टोबरदेखि फ्लाई जिन्नाहमार्फत ढाका–कराची सिधा उडान सुरु गर्ने तयारी भएको जनाएका छन्। पीआईएले समेत छिट्टै उडान पुनः सुरु गर्ने सम्भावना रहेको छ।

यसअघि २०१२ मा तत्कालीन विदेशमन्त्री हीना रब्बानी खार बंगलादेश पुगेकी थिइन्।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ९ : ५७ बजे