Logo

कोशी

कोशी प्रदेशले सार्वजनिक गऱ्यो स्वास्थ्य नीति २०८२, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा जोड



विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित स्वास्थ्य नीति, २०८२ सार्वजनिक गरेको छ ।

प्रदेशका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने यस नीतिले शारीरिक मात्र नभई मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा। केनिन राईका अनुसार नीति ६ प्रमुख उद्देश्य र २६ नीति तथा रणनीतिसहित तयार गरिएको हो । मन्त्रिपरिषद्को साउन १६ गतेको बैठकबाट स्वीकृत उक्त नीतिलाई मन्त्रालयले आइतबार सार्वजनिक गरेको हो ।

नयाँ नीतिले प्रदेशभित्रका वास्तविक चुनौतीहरूलाई उजागर गरेको छ । अस्पतालहरूमा गुणस्तरीय सेवा अभाव, स्वास्थ्य पूर्वाधार र जनशक्तिको कमी, उपलब्ध जनशक्तिको उचित व्यवस्थापन नहुनु र पर्याप्त लगानी अभावलाई नीति अनुसार प्रमुख चुनौतीका रूपमा पहिचान गरिएको छ ।

नीतिले चिकित्सकीय विशेषज्ञता र सघन उपचार सेवाको विस्तारलाई जोड दिएको छ । पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पता, प्रजनन उमेरकी महिलामा न्यून पोषण, क्षयरोग, कुष्ठ रोग, उपेक्षित उष्णप्रदेशीय रोग र कीटजन्य रोग जस्ता चुनौतीपूर्ण रोग नियन्त्रणलाई नीति केन्द्रित गर्ने बताइएको छ ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार नेपालमा मानसिक रोगको औसत दर १३.९५ प्रतिशत रहेको छ भने किशोरावस्थामा ११.४५ प्रतिशतले मानसिक समस्या भोग्ने तथ्यांक छ । त्यस्तै, मद्यपानको लत ६.५५ प्रतिशत, लागूऔषध दुव्र्यसन ०.४५ प्रतिशत र आत्महत्याको सोच १०.६५ प्रतिशत रहेको छ । यी समस्यालाई मध्यनजर गर्दै नीतिले मानसिक स्वास्थ्य प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको छ ।

स्वास्थ्य नीतिको मूल लक्ष्य ‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ राखिएको छ । यसलाई कार्यान्वयन गर्न मन्त्रालयले आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र लगानीमा जोड दिने जनाएको छ ।

स्वास्थ्य विज्ञका अनुसार नीति प्रभावकारी रूपमा कार्यान्वयन भए कोशी प्रदेशमा स्वास्थ्य सेवा अझ सर्वसुलभ र गुणस्तरीय बन्नेछ । बालबालिका र महिलाको पोषण सुधार, रोग नियन्त्रण र मानसिक स्वास्थ्य प्रवद्र्धनमा यसले ठोस योगदान गर्ने उनीहरूको विश्वास छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ८ : २० बजे